काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं राष्ट्रिय शिखर सम्मेलन आज बाट सुरु भएको छ ।
११ औं राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गरेकी हुन्। । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै आएको छ ।
सम्मेलनको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टराईले अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला रहेको बताइन्। उनले तथ्य र प्रमाणमा आधारित स्वास्थ्य अनुसन्धान हुन आवश्यक रहेको यसलेनै दीगो विकास हुने बताइन् । वैज्ञानिक सम्मेलनले नयाँ खोज र अनुसन्धानका लागि बाटो देखाउने र अनुसन्धानको महत्व उजागर गर्नुका साथै त्यसप्रति लाग्ने प्रेरित गर्ने उनले बताइन्।
राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहनेछ । स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, बैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले बताए ।
हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू अझ अनुकूलनीय, समावेशी र प्रमाण आधारित हुने डा जोशीले बताए । उनले जलवायु परिवर्तनशीलताले रोग प्रसारण ढाँचाहरू परिवर्तन गर्दैछ, जोखिमहरू बढाउँदैछ र पहिले नै कमजोर स्वास्थ्य प्रणालीहरूमा ठूलो दबाब दिइरहेको बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यात्रा हेर्दा अहिलेसम्म, राष्ट्रिय स्वास्थ्य आयोगले २०० भन्दा बढी वैज्ञानिक अनुसन्धान अध्ययनहरू सञ्चालन गरिसकेको छ र १५००० भन्दा बढी अनुसन्धानहरूको लागि स्वीकृति प्रदान गरेको छ। त्यस्तै, राष्ट्रिय स्वास्थ्य आयोगले १५००० भन्दा बढी अनुसन्धानकर्ताहरूलाई तालिम प्रदान गरेको उनले जानकारि दिए
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा १४६ वटा मौखिक, १३० वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत हुनेछन् ।